logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको संभावना, आवश्यक सतर्कता अपनाउनुहोस्


अंकुरण खबर
793
Shares

देशका अधिकाशं भू-भागमा अहिले पनि पानी परिरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो।

कतै कतै भने भारी वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार आइतबार देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ।

आइतबार पहाडी भू-भागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए।

आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशभरका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। यसले बाढी र पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।

विशेष गरी नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई बाढी, पहिरो र डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ । कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा गएराति लगातार ६ घण्टा भारी वर्षा मापन भएको छ।