नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले पार्टी अब सधै पछि पर्ने जीकिर गरेका छन् ।
आइतबार अखिल नेपाल महिला संघ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको दम्भका कारण पछाडी पर्ने यात्रा संघीय निर्वाचनमा पनि कायमै रहने बताएका छन् ।
उनले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै आफूलाई कमजोर ठानेको र बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको बताए । अहिले पनि एमाले पराजित हुनुको दोष आफूलाई दिने गरिएको भन्दै अध्यक्ष नेपालले नेतृत्व नसुध्रिए एमालेको पतन निश्चित रहेको आरोप लगाए ।
उनले प्रधानमन्त्रीले आफ्नो पार्टीले गरेको निर्णय मान्नुको बिकलप नरहेको भन्दै तत्काल मन्त्री परिषद् हेरफेर हुने दाबी गरे । साथै वर्तमान अवस्थामा गठबन्धनको आवश्यकता कायमै रहेको भन्दै कम्तिमा संघीय निर्वाचनसम्म सहकार्य कायमै रहने बताए ।
त्यस्तै एक फरक प्रशंगमा अध्यक्ष नेपालले काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिउ मर्काएर नै जितेको टिप्पणी गरे । उनले भने, ‘यहाँ हेर्नुस् त नाचेरै, जिउ मर्काएरै बालेनले जितिहाले । र्याप म्युजिक मात्रै होइन, उनले विषयवस्तु पनि अगाडि सारे। काठमाडौंको समस्या के छ, त्यो पनि अगाडि उठाए। र्यापले पनि तान्यो, विषयवस्तुले पनि तान्यो।’