logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवलको चुरे क्षेत्रमा पहिरो, दुई घर पूर्ण र २२ घरमा आंशिक क्षति


अंकुरण खबर
1.313K
Shares

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको चुरे क्षेत्र ज्योतिनगरमा पहिरोले क्षति पुर्‍याएको छ ।

मंगलबार बुटवलको उत्तरी भेगको ज्योतिनगरमा आएको पहिरोले दुई घरमा पूर्ण रूपमा क्षति भएको छ । अरू २२ घरमा आंशिक क्षति भएको छ ।

वर्षाको भलसहित लेदो पसेर घरहरूमा क्षति पुगेको हो । बुटवल उपमहानगर र इलाका प्रहरीले क्षतिको पूर्ण विवरण आइनसकेको जनाएको छ ।

यस क्षेत्रमा गत वर्षदेखि पहिरो खस्न थालेको हो । पहिरोले पुरेका क्षेत्रमा हाल जेसीबीको सहाराले ढुंगा पन्छाउने काम भइरहेको छ ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले केही घरहरू क्षति भएको भए पनि सबै विवरणका लागि इन्जिनियर पठाइएको बताए । पाण्डेयले पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे, सिँचाइ र स्थानीय तहबाट सक्दो पहल भइरहेको बताए ।

उपमहानगरले बस्ती जोगाउन केहीदिन अगाडिबाट पानीको भल तर्काउने कामको सुरुवात गरेको थियो । तर त्यसले झन् लेदोसहितको ढुंगामाटो बस्तीमा ल्याएको स्थानीयको भनाइ छ ।

चुरेबाट बगेर आएको लेदोका कारण त्यहाँका आधाभन्दा बढी घरमा पानी पसेको छ भने चुरेबाट ठुला ढुंगा बगाएर ज्योति नगरसम्म ल्याएको छ ।

गत वर्ष घर नै छाडेर हिँड्न बाध्य भएका लक्ष्मीनगर, ज्योति नगर, मिलनपथका स्थानीयलाई फेरी चुरेबाट लेदो बग्न सुरु गरेपछि त्रास बढेको हो ।