काठमाडौंमा हैजाका बिरामीको संख्या १४ पुगेको छ।
ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासका अनुसार मंगलबार साँझ दुई जना बिरामी थपिएसँगै हैजाका बिरामीको संख्या १४ पुगेको छ।
हैजा लागेर अस्पताल पुगेका १२ जना डिस्चार्ज भइसकेका छन्। २ जनाको टेकू अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको पनि अवस्था सामान्य नै रहेको दासले बताए।
काठमाडौंका १० स्थानमा अहिलेसम्म हैजाका बिरामी देखा परेका छन् । बागबजार, डिल्लीबजार, कपन, बालाजु, थानकोट, नैकाप, बल्खु, कलंकी, कोटेश्वर, र सानेपामा बस्ने ब्यक्तिमा हैजा देखिएको हो। हैजा नियन्त्रणका लागि परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाउन सरकारले निर्देशन दिएको छ ।
अहिले पानी र खाद्यान्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गरिरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मी तथा वर्षायाममा विशेष गरी झाडा पखालाका, हैजा तथा पानी जन्य रोगहरु फैलिने संभावना बढी हुने भएकाले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्रै प्रयोग गर्न र व्यक्तिगत सरसफाइमा पनि विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ ।