logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजेन्द्र लिङ्देनको प्रतिवेदन : शान्ति प्रक्रिया त्रुटिपूर्ण छ, १५ दिनभित्र निर्वाचनको तयारी सम्बन्धी विस्तृत कार्ययोजना तयार गर्ने


अंकुरण खबर
1.144K
Shares

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको शान्ति प्रक्रिया त्रुटिपूर्ण र अपूर्ण रहेको विश्लेषण गरेका छन् ।

काठमाडौंमा बिहीबारदेखि सुरु भएको दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले  संक्षिप्त तथा प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्ययोजना पेस गर्दै विदेशको प्रभावमा रहेको १२ बुँदे सम्झौतासहित शान्ति प्रक्रिया त्रुटिपूर्ण र अपूर्ण रहेको बताएका हुन् ।

संघीयताका कारण जनता महंगीको मारमा परेको उनको विश्लेषण छ । विदेशी प्रभावमा रहेको बाह्र बुँदे मात्र नभएर शान्ति प्रक्रिया पनि उत्तिकै त्रुटीपूर्ण र अपूर्ण रहेको लिङ्देनको विश्लेषण छ ।

थाल्यो आगामी निर्वाचनको तयारी

त्यस्तै राप्रपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी थालेको छ । अध्ययक्ष लिङ्देनले पेस गरेको राजनीतिक प्रतिवेदनमा मंसिरको पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने देखिएको र यसको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने प्रस्ताव गरेका छन् ।

केन्द्रीय अध्यक्षको अध्यक्षतामा गठन हुने सो समितिले १५ दिनभित्र निर्वाचनको तयारी सम्बन्धी विस्तृत कार्ययोजना तयार गर्ने उनले उल्लेख गरेका छन् ।

सार्थै जिल्ला अध्यक्षको अध्यक्षतामा जिल्ला निर्वाचन परिचालन समिति गठन गर्न पनि अध्यक्ष लिङ्देनले प्रस्ताव गरेका छन् । उपयुक्त र लोकप्रिय उम्मेद्वारहरुको सम्भावित नामावली संकलन प्रारम्भ गर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

स्वतन्त्र व्यक्तिहरुलाई राप्रपाबाट निर्वाचनमा उम्मेद्वार हुन सार्वजनिक रुपले आह्वान गरी सकिएको र सबै जिल्ला समितिहरुले सम्पर्क र अनुगमन प्रारम्भ गर्ने लिङ्देनको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन आयोगले २ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्न मिति प्रस्ताव गरे पनि सरकारले यसबारे निर्णय भने गरेको छ्रैन ।