logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हलेसी नगरपालिकाले प्राधिकरणसँग माग्यो भूकम्पको क्षति मूल्यांकन गर्न प्राविधिक टोली, प्राधिकरण मौन


अंकुरण खबर
1.339K
Shares

खोटाङको हलेसी तबाचुङ नगरपालिकाले आजको भूकम्पले गरेको क्षतिको मूल्यांकन गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग तत्काल प्राविधिक टोली पठाइदिन अनुरोध गरेको छ ।

नगरपालिकाले प्राधिकरणलाई पत्र लेख्दै क्षतिको मूल्याकंन गर्न तत्काल प्राविधिक टोली पठाइदिन अनुरोध गरेको हो ।

‘२०७९ साउन १५ गतेका दिन विहान ८ः१३ बजे खोटाङको हलेसी आसपास केन्द्रविन्दू बनाएर शक्तिशाली भूकम्प आएको कुरा यहाँलाई अवगत नै छ,’ नगरपालिकाले लेखेको पत्रमा भनिएको छ, ‘उक्त भूकम्पबाट भौतिक एवं मानवीय क्षतिको तत्काल मूल्यांकन गर्न तहाँ प्राधिकरणबाट एक प्राविधिक टोली यस नगरपालिकामा पठाई सहयोग गरिदिनुहुन अनुरोध छ ।’

नगरपालिकामा भूकम्पले गरेको क्षतिको एकीकृत विपद् जोखिम मूल्यांकन गर्ने दक्ष जनशक्तिको अभाव भएपछि प्राधिकरणलाई पत्र लेखी टोली पठाउन अनुरोध गरिएको हो । प्राधिकरणले भने टोली पठाउने वा नपठाउने भन्ने विषयमा कुनै जवाफ पठाइ नसकेको नगरपालिकाले जनाएको छ ।

आज विहान ८ः१३ बजे खोटाङको साकेला गाउँपालिका–५ मात्तिम विर्ता केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प ६ म्याग्निच्युडको रहेको थियो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईका अनुसार भूकम्पले ठूलो क्षति गरेको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।

यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले भूकम्प प्रभावित खोटाङ, भोजपुरलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग टेलिफोनमा कुराकानी गरी भूकम्पले गरेको क्षतिकाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।