निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।
आफूद्वारा प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि अध्यक्ष रवि लामिछानेले खुसी व्यक्त गरेका छन् ।
शुक्रबार निर्वाचन आयोगमा आफ्नो दल दर्ता भएपछि प्रमाणपत्र लिएर बाहिरिने क्रममा उनले अब जनतामाझ जाने बाटो पनि खुलेको बताएका छन् । केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको अध्ययनपछि शुक्रबार आयोगले दर्ता गर्ने निर्णय गर्दै प्रमाणपत्रसमेत दिएको छ ।
१८७ दर्ता नम्बर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ४ र ५ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट असार ३ मा निर्णय भएकाले यो प्रमाणपत्र दिइएको’ उल्लेख छ ।