रोडमा मकै पोल्दै गरेका एक दम्पतिमाथि काठमाडौं महानगर प्रहरीको टोलीले अशोभनीय गतिविधि देखाएको भन्दै चौतर्फी आलोचना भैरहेका बेला उल्टै नगर प्रहरीले उनीहरु माथि उजुरी हालेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार नजिकै दम्पति चेतेन्द्र आचार्य र सीता आचार्यले ठेलामा मकै पौल्दै गर्दा नगर प्रहरीले उनीहरुमाथि अत्यचार गरेको भन्दै आलोचना भएको थियो ।
तर, उल्टै मकै पोल्न बसेका ती दम्पतिमाथि नगर प्रहरीले उजुरी हालेको छ । नगर प्रहरीमाथि अगुल्टाले हानेको र घुस मागेको आरोप लगाएको भन्दै महानगर प्रहरीले कारबाहीको माग गर्दै नेपाल प्रहरीमा उजुरी हालेको हो ।
नगर प्रहरीले आचार्य दम्पतिमाथि कारबाहीका लागि आइतबार नेपाल प्रहरीलाई पत्र पठाएको छ । महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले महानगरीय प्रहरी वृत्त महाराजगञ्जलाई पत्र पठाएका हुन् । पत्रमा भनिएको छ ‘आचार्य दम्पतिमाथि अनुसन्धान र कारबाही गरिपाऊँ’ ।
नगर प्रहरीमाथि लगाइएको घुस मागेको आरोप कपोकल्पित रहेको र यस्ता घटना निरत्साहित गर्न आवश्यक रहेकोले उजुरी गरेको नगर प्रहरीको दाबी छ ।