उपत्यकाबाट हराएका २० वटा मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
सोमबार एक कार्यक्रमबीच विभिन्न समयमा हराएका मोटरसाइकल खोजीका क्रममा फेला परेपछि कार्यालयका प्रमुख डीआईजी उमेशराज जोशीले सम्बन्धित धनीलाई फिर्ता गरेका हुन्।
ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमबीच १७ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालय प्रमुख जोशीले हस्तान्तरण गरेका हुन्। उनले मोटरसाइकल हराएका सूचनापछि विशेष टोली बनाएर खोजी गरिएको बताएका छन्।
उनले भने हाम्रो टोलीले उपत्यका आसपासका इलाकामा विशेष अपरेसनमा गई मोटरसाइकल बरामद गरेका हुन्। चोरीमा संलग्नहरूलाई पनि पक्राउ गरिएको छ ।
यस आर्थिक वर्षमा ४६३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकिएको छ। चोरीमा संलग्न ४४ जनालाई पक्राउ गरि विभिन्न प्रहरी वृत्तहरुमा पठाइएको जोशी बताए।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइनमार्फत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।