नागरिक अगुवाहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्।
सोमबार पूर्व प्रधानन्यायाधीश शुसिला कार्की, पूर्व उपकुलपति केदारभक्त माथेमा र चिकित्सा शिक्षाका अभियान्ता डा. गोविन्द केसीले संयुक्त विज्ञप्ति जारी गर्दै अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन्। बजेटमा भएको अनधिकृत व्यक्तिको प्रवेश र अपारदर्शीताका कारण अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ‘हाल सत्तासीन दलका विभिन्न पदाधिकारी र नेताहरुले सिर्जना गरेको आर्थिक तथा न्यायिक अराजकताबारे पछिल्लो समय मिडियामा आइरहको समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता अराजकता र दण्डहीनता कुनै पनि नेपाली नागरिकलाई स्वीकार्य हुन नसक्ने भएकाले तत्काल अर्थ मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ’।
मन्त्रालयको पारदर्शीताबारे शंका लागेपछि सीसीटीभी फुटेज माग्दा नदिएर आम नागरिकले प्राप्त गर्न पाउने सुचना हक समेत अर्थ मन्त्रालयले कुण्डित गरेको उनीहरुको आरोप छ । उनीहरुले सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि २०७२ उल्लंघन गर्ने कार्यमा संलग्न व्यक्ति वा निकाय वा दुवैलाई तत्काल कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन्।
साथै उनीहरुले हालैको निजगढ भ्रमणमा सत्ता गठबन्धनका नेताहरुले त्यहाँ विमानस्थल बनाउँछौं भनेको तर सर्वोच्च अदालतले कायम गरेका बन्देज र दिएको आदेश पालना गर्ने कुरा खुलेर नभनेकोमा समेत उनीहरुले आपत्ति जनाएका छन्।विज्ञप्तिमा भनिएको छ ‘आगामी दिनमा उक्त अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी कुनै पनि काम न्यायालयको आदेश प्रतिकुल वा मान हानि हुने गरी नगर्न पनि ध्यानाकर्षण गराउँछौं ’।
