logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आयोगको सरकारलाई प्रस्ताव, मंसिर २ मै प्रतिनिधि र प्रदेशसभा निर्वाचन गर्दा राम्रो


अंकुरण खबर
741
Shares

निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ।

निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको हो । आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचन मिति घोषणा गर्ने स्रोतले जनाएको छ।

यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियो।

प्रदेशसभाको चुनाव पनि सँगै भएको थियो। यस पटक पनि देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुने भएको छ। आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको छ। यसअघि स्थानीय तह निर्वाचनमा सरकारले सुरक्षा दिन नसकेको भन्दै दुई चरणमा गर्नेबारे आयोगमा छलफल भएको थियो।

तर, एकै चरणमा मंसिर २ मा चुनाव गर्न उपयुक्त हुने निष्कर्षमा आयोग पुगेको छ। हिउँद लागेपछि हिमाली भेगमा चुनाव गर्न गाह्रो हुने भन्दै आयोगले यसअघि कात्तिक ३० भित्रै पहिलो चरण र मंसिर पहिलो साता दोस्रो चरणमा चुनाव गर्न सरकारलाई अनौपचारिक सुझाव दिएको थियो।