दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा खसेका छन्।
बुधबार तुइन चुडिएर व्याँस गाउँपालिका–२ का १८ वर्षीय सचिन बुढाथोकी महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । भारतबाट घर फर्किने क्रममा तुइनमार्फत महाकाली तर्दा तुइन टुटेर बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए।
व्याँस गाउँपालिका–२ दुम्लिङ नजिक महाकाली नदीमा बेपत्ता भएका बुढाथोकीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी उनको खोजीमा जुटेको छ । यसअघि २०७८ साउन १५ गते व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका थिए।
जयसिंह बेपत्ता भएको नजिकै उनकै पालिकाका सचिन बुढाथोकी तुइन टुटेर महाकालीमा बेपत्ता भएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए।
‘दुम्लिङ जयसिंह बेपत्ता भएको ठाउँ माल घाटबाट नजिकै पर्छ। २र३ किलोमिटरको दूरीमा छ,’ उनले भने, ‘नेपालतर्फ बाटो नहुँदा किनमेलका लागि तुइनमार्फत नेपालीहरु भारततिर जानु पर्ने बाध्यता छ।’