सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्ति गरेको छ । अन्य सदस्य यथावत राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने निर्णय गरेको हो ।
बुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय बाल परिषद्को कार्यकारी निर्देशक पद हालको बालबालिकासम्बन्धी नियमावली २०७८ मा नभएकाले वर्तमान कार्यकारी निर्देशक मिलनराज धरेललाई पदमुक्त गरी राष्ट्रिय बाल परिषद्को उपाध्यक्षसहित तीन जना सदस्यहरू र सदस्यसचिव नियुक्त गरेको बताए ।
सरकारका प्रवक्ता कार्कीले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैैंकबाट प्राप्त हुने ५९।६ मिलियन एसडीआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको बताए । त्यस्तै, नेपाल प्रहरीको क्षमता विकाससहितको साइबर ब्युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान साहयता स्वीकार गरिएको छ ।
हरित ग्यास उत्सर्जन न्यनिकरणको लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ ऊर्जा प्रवद्र्धनका लागि प्राप्त हुने अमेरिकी डलर २१।१२ मिलियन अनुदान साहयता स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । उनले हरित तथा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४। ५ मिलियन बराबरको आर्थिक प्राविधिक साहयता पनि स्वीकार गर्ने निर्णय भएको बताए ।
सरकारले पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजनाका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान साहयतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
सरकारले २०७९ असार २४ देखि २६ गतेसम्म भारतको दिल्लीमा रिफाइडिङ द फ्युचर विषय कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।विश्वनाथ पौडेललाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ । प्रवक्ता कार्कीका अनुसार संयुक्त राष्ट्रसंघको आयोजनामा २०७९ असार २१ गतेदेखि २३ तथा २७ देखि ३१ गतेसम्म आयोजना हुने इको सोक हाइलेभल फोरम र २९ देखि ३१ सम्म आयोजना हुने मिनिटेरियल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत दिने निर्णय पनि गरेको छ ।
त्यस्तै, नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विद्येयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ । त्यस्तै, सशस्त्र प्रहरी दास्रो संशोधन नियमावली २०७९ स्वीकृत भएको छ । सरकारले प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिष्टेशन दिवस मनाउनका लागि स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
प्रवक्ता कार्कीले सरकारले विभिन्न २३ जिल्लाका २ लाख २३ हजार ३३० गरिब परिवारको सूचिकृत सूची स्वीकृत गर्ने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा बताए । उनले वागमती प्रदेश ट्राफिक प्रहरीलाई चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरस्थित शतनचुली सामुदायिक वनको ४६ हेक्डर वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको बताए । त्यस्तै मन्त्रिपरिषद्ले कर्णाली प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १२ छिन्चुस्थित राष्ट्रिय वनको ४.९ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले बताए ।