बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान भइरहेको छ ।
३० वैशाखमा भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको बुढीगंगामा आज पुनः मतदान भइरहेको हो । बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ ।
निर्वाचनका लागि १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक सबै व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
पुनः हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको उनले बताए । सबै राजनीतिक दल र सरोकारवालाबीच मतदान शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सहयोग पुर्याउने सहमति पनि भएको उनले जानकारी दिए ।
हामीले भरपर्दो सुरक्षा व्यवस्था मिलाएका छौँ । शान्तिपूर्ण मतदानका लागि सबैको सहमति छु, उनले भने । उनले भयरहित ढंगले मतदानमा सहभागी हुन मतदातालाई आग्रह पनि गरे ।
बेलुकी ५ बजेसम्म चुनाव हुने निर्वाचन अधिकृत लक्ष्मण कठायतले बताए । बुढीगंगा नगरपालिकामा १० वडा छन् । जहाँ १३ हजारभन्दा बढी मतदाता रहेका छन् ।

Comment here