logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होटल र संघसंस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान


अंकुरण खबर
715
Shares

पोखरा महानगरपालिकाले पनि काठमाडौं महानगरमा जस्तै होटल, रेष्टुरेण्ट तथा विभिन्न संघसंस्थाका शौचालयलाई सार्वजनिक रुपमा प्रयाेग गर्न मिल्ने गरी खुला गर्न आह्वान गरेको छ ।

मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माणका लागि जग्गा पनि नहुँदा सर्वसाधारणलाई असहजता भएको छ । त्यसैले मुख्य सहर र सडकमा रहेका व्यक्ति, बैंक, वित्तिय संस्था, होटल, रेष्टुरेण्टलगायत संस्थाका व्यवसायिक, गैरव्यवसायिक र पेशागत संस्था तथा कम्पनीका शौचालय महानगरले सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक सफाई र स्यानिटरी सामग्रीमा महानगरले सहयाेग गर्ने, विशेष लोगो र पहिचानयुक्त संकेत राख्ने छ ।

यसअघि  महानगरकाे कार्यपालिका बैठकबाटै उक्त निर्णय भएको थियो । ईच्छुक संस्थाले साउन मसान्तभित्र आफ्नो विवरण पेश गर्नुपर्ने छ । सहयोग गर्ने संस्था वा कम्पनीको विवरण वेभसाइटमा राख्ने, महानगरबाट उपलब्ध सेवा सुविधामा प्राथमिकता दिने मेयर धनराज आचार्यले बताए । योसँगै चालू आर्थिक वर्षदेखि महानगरले सार्वजनिक शौचालय निर्माणमा विशेष चासो दिएको छ ।