मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अब तीन दिन देशभरि वर्षा हुने सम्भावना देखिएको हो।
आज बिहान पनि प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही स्थान, लगाएतका स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
महाशाखाको बुलेटिनअनुसार आज राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
महाशाखाले देशका धेरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।