काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत फेला परेका दिनेश पाण्डेले लेखेको १० पेज लामो सुसाइड नोट फेला परेको छ ।
अनुशन्धानका क्रममा गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेले लेखेको सुसाइड नोट फेला परेको हो। प्रहरीका अनुसार सुसाइड नोटमा पाण्डेले श्रीमती र उनको माइती पक्षलाई दोषी देखाएका छन् ।
उनले आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गरेर आफूलाई सिद्याउन खोजेपछि यति गम्भीर कदम उठाउन बाध्य भएको उल्लेख गरेका छन् ।
‘मैले ११ वर्षसम्म कुवेतको तातो घाममा दुस्ख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजेु, उनले सुसाइड नोटमा भनेका छन्, मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजिरहे। श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक पटक थुनाएर सबै सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ।’
दिनेशले उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गर्ने भएपछि छोराछोरीलाई एक्लै छाड्न नचाहेका कारण हत्या गरेको उल्लेख गरेका छन्।
नोटमा लेखेका छन् ‘मेरा बच्चाबच्चीको औधी माया लाग्छु, मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लैजान कठोर कदम चाल्न बाध्य भएँ।’
पाण्डेले आफूलाई मोबाइल समेत हेर्न नदिएको, लुकीलुकी अर्कैलाई म्यासेज र कल गर्ने गरेकाले आफूलाई सम्हाल्न गाह्रो भएको पनि सुसाइड नोटमा उल्लेख गरेका छन्।
स्थानीयका अनुसार दिनेश र श्रीमती सुनिताबीच यसअघि पनि विवाद तथा झगडा हुने गरेको थियो। उनीहरुको झगडाको केस प्रहरी वृत्त बालाजुसम्म पुगेको प्रहरीले जनाएको छ।
श्रीमान्–श्रीमतीबीच झगडा हुने गरेका कारण सुनिताको माइती पक्षले उनलाई बेलायत पठाउन खोजेको थियो। सुनिता बेलायत जाने तयारीमा समेत थिइन्।
लामो समयदेखि चलेको झगडाको परिणाम ४१ वर्षीय पति दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित १३ वर्षीया छोरी आशिका र ८ वर्षीया छोरा आशिकको पनि आइतवार राति ज्यान लिएर आत्महत्या गरेका थिए।