गृहमन्त्री बालकृष्ण खाँणले उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९ मा सप्तकोसी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई उद्धारको तत्काल व्यवस्थापन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।
सप्तकोसीको पानीको बहावले अहिले झन्डै ५० मिटरजति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका बासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा सार्न गृहमन्त्री खाँणले निर्देशन दिएका हुन् । मन्त्री खाँणको निर्देशन अगाबै देखि उद्धारको काम भएको प्रहरीले जनाएको छ ।
गृहमन्त्री खाँणले बेलकामा सप्तकोसीले गरेको कटानबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग छलफल गरेका छन। उनीहरूबीच कटानबाट प्रभावित बस्तीका बासिन्दालाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको छ।
त्यस्तै गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का नेपाल प्रहरीका प्रमुख नायब महानिरीक्षक सुदीप गिरी लगाएत सरोकारवालासंग समन्व्य गरिरहेको बताएका छन् ।
कटानले सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचमा असर पारेको छ। कटानका कारण २ हजार ४ सय घरधुरी प्रभावित हुने प्रारम्भिक अनुसन्धान छ । अहिले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम भइरहेको छ।
नदीको कटान रोकेर त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरणको विकल्प नभएको हो ।