गृहमन्त्री बालकृष्ण खाणले नेपालमा अहिले नै मल कारखाना खोल्न सम्भावना नभएको बताएका छन्।
धेरै समय लाग्ने भएकाले अन्तर्राष्ट्रिय बजारबाटै ल्याएर किसानका लागि मल आपूर्ति गरिने उनले बताएका हुन्। रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ मा निर्मित शुद्धोधन उद्यानको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले तत्कालै नेपालमा मल कारखाना खोल्न सहज नभएको बताएका छन्। त्यसका लागि ठूलो ऊर्जाको आवश्यकता पर्ने उनको भनाइ छ।
उनले भने, ‘मलसम्बन्धी कारखाना खोलौं भने समय लाग्छ। कारखाना सहज छैन। ठूलो ऊर्जाको आवश्यकता पर्छ।’ यस्तै उनले किसानलाई आवश्यकता अनुसार मल आपूर्ति होस भनेर वर्तमान सरकारले मलमा अनुदानका लागि झण्डै १६ अर्ब बजेट छुट्याएको दाबी गरे।
‘रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ। अन्तर्राष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महंगो पर्छ। हामी पनि किसानकै सन्तान भएकाले कृषकले उत्पादनमा अवरोध झेल्न नपरोस् भनेर प्रयत्न गरिहेको छौं’, उनले भने।
अहिले विभिन्न स्वरुपमा मल आयात भए पनि पर्याप्त नभएको उनको भनाइ छ। अहिले विभिन्न देशसँग संवाद गरिराखेकाले छिट्टै समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे। ‘भारतले किनेको जति मूल्यमा हामीले ल्याउनुपर्छ। पछिल्लो समय भारत सरकारले तोकेको मूल्य बढी भएकाले खरिद गर्न सकिएको छैन। मलसम्बन्धी कारखाना खोलौं भने समय लाग्छ। कारखाना सहज छैन। ठूलो ऊर्जाको आवश्यकता पर्छ’, गृहमन्त्री खाणले भने।
अर्को प्रसङ्गमा गृहमन्त्री खाणले नेपाली नागरिक अनागरिक बन्नुपर्ने परिस्थिति सिर्जना नहोस् भन्नका लागि सरकारले नागरिकता विधेयक ल्याएको स्पष्ट पारे। नेपाली नागरिक भएर पनि नागरिकको अधिकारबाट वञ्चित भएकाले यसलाई स्वीकृत गर्न बिलम्व गर्न नहुने उनको भनाइ छ।