logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गिरिको निधनमा कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै


अंकुरण खबर
1.222K
Shares

नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०:३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ। गिरिको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९:३० बजे निधन भएको हो।

गिरिको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

नेता गिरि विसं २०२१ पछि राजनीतिमा सक्रिय भएका हुन् । हाल प्रतिनिधिसभा सदस्य रहेका उनी विसं २०२४ मा वनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका थिए।

उनी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए। यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए । नेता गिरि प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित भएका हुन्। विसं २००४ मा सिरहामा भएको थियो ।