logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विधायन समितिमा आज नागरिकता विधेयकमाथि छलफल हुँदै


अंकुरण खबर
1.508K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता ऐन संशोधन विधेयकमाथि सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ ।

यही भदौ १६ मा बस्ने राष्ट्रियसभा बैठकमा प्रतिवेदन पेस गर्ने तयारीका साथ सोमबार सो विधेयकमाथि छलफल हुन लागेको हो । सोमबार १२ बजे समितिको बैठक बस्दै छ ।

ज्येष्ठ सदस्यका हैसियतमा सो समितिको सभापतिको भूमिकामा रहेका कांग्रेस सांसद नारायणदत्त मिश्रले विधेयक समितिमा नअल्झिने बताएका छन् । उनले सबै सदस्यलाई सो विधेयकबारे छलफलका लागि समय दिइने तर, १६ गतेसम्म प्रतिवेदन पनि तयार पारिने बताए ।

राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संसदमा विधेयक फिर्ता पठाए पनि प्रतिनिधिसभाले भने पहिलाकै विधेयक जस्ताको तस्तै पारित गरेर राष्ट्रियसभामा पठाएको छ । राष्ट्रियसभाको आइतबारको बैठकले सो विधेयक छलफलका लागि विधायन समितिमा पठाएको थियो । विधायन समितिमा पनि सत्तारुढ दलको स्पष्ट बहुमत भएकाले विधेयक हुबहु पारित हुने सम्भावना छ ।

१५ सदस्यीय विधायन समितिमा एमालेका ३ र राष्ट्रपतिबाट मनोनीत एक जना सदस्य छन् भने एक जना स्वतन्त्र छन् र राष्ट्रपतिबाट मनोनीत सांसद डा. विमला राई पौड्याल एमालेसँगै छिन् । तर स्वतन्त्र सांसद डा. खिमलाल देवकोटा भने कतै खुलेका छैेनन् । यद्यपि उनी हालको सत्ता गठबन्धनकै सहयोगमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनका भने १० सदस्य छन् ।