logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिट बाँडफाँट टुंगो लगाउन गठबन्धनलाई सकस, आज पनि बैठक बस्दै


अंकुरण खबर
1.56K
Shares

आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सोमबार बिहान पनि सत्ता गठबन्धनको बैठक बस्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आइतबारको बैठक निष्कर्षविहीन बनेपछि सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठक पुनस् बस्न लागेको हो । बैठक सोमबार बिहान ८ बजेका लागि बोलाइएको छ । दलहरुले आ-आफ्नो दाबी नछाडेपछि आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सकस परेको छ।

सोमबार बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बताए। सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उनको भनाइ छ ।

सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए। तर, कार्यदलले ठोस सहमति जुटाउन नसकेपछि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन शीर्ष नेताहरूलाई नै जिम्मा लगाएको थियो। सत्तारुढ पाँच दलमा नेपाली कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको छ भने माओवादी केन्द्रले ६० सिट पाउनु पर्ने अडान लिएको छ। यस्तै, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।

सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ ।