logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ नेता लीले देउवा, प्रचण्ड र ओलीलाई आज भेट्ने


अंकुरण खबर
689
Shares

चिनियाँ सभामुख ली चाङ्सु सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा छन्।

सोमबार अपरान्ह सवा ३ बजे चिनियाँ विशेष विमानबाट नेपाल आएका सभामुख लीका अधिकांश राजनीतिक भेट मंगलबार (२८ भदौ) हुँदैछ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग मंगलबार बिहान सवा ९ बजे संघीय संसद भवनमा भेटवार्ता गर्ने कार्यसूची रहेका छन्। त्यसपछि सभामुख लीले अन्य नेपाली नेताहरुसँग भेटवार्तालाई निरन्तरता दिने छन्।

संसद भवनमै मंगलबार बिहान १० बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब ४५ मिनेट वार्ता हुने छ।

त्यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ताको कार्यसूची छ।

त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको बताइएको छ।

खानापछि दिउँसो ३ बजे सभामुख ली र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच करिब ४० मिनेट भेटवार्ता समय निर्धारण गरिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि मंगलबार नै भेट गर्ने भएका छन्। बेलुकी अपरान्ह ४ बजेर ५ मिनेटदेखि बालुवाटारमा प्रधानमन्त्री देउवासँग आधा घण्टा वार्ता हुने बताइएको छ।

चिनियाँ नेता ली नेपाल आउँदा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। चिनियाँ नेता लीको सुरक्षामा नेपाली सेनाले कर्णेल नेतृत्वको टोली परिचालन गरेको छ।