logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अघिल्लो निर्वाचनको लागि दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने


अंकुरण खबर
507
Shares

निर्वाचन आयोगले २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने बताएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

‘२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची २०७९ असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ,’ विज्ञप्तिमा आयोगले भनेको छ ।

राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ गतेको पत्र तथा भदौ २९ गतेको राजनीतिक दलसँगको बैठक वाट प्राप्त सुझाव समेतका आधारमा उक्त निर्णय गरिएको आयोगले जनाएको छ ।

‘आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।