प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक लगातार बसिरहेको छ ।
कांग्रेसको आन्तरिक बैठकपछि अहिले केही समयपछि कार्यदलका सदस्यसहित शीर्ष नेताको बैठक बालुवाटारमा बस्दैछ ।
बैठकमा प्रदेशतर्फ सिट बाँडफाँटको विषयमा छलफल हुनेछ । ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कुन दललाई कति सिट भन्ने विषयमा छलफल हुनेछ । बैठकमा मापदण्ड तयार बनाएर सोही मापदण्डको आधारमा दलहरूलाई सिट बाँडफाँट गर्ने बताइएको छ ।
दलहरूले २०७४ मा प्राप्त गरेको समानुपातिक मत र वैशाख ३० को स्थानीय तह निर्वाचनमा पाएको मतलाई आधार बनाउने मापदण्ड बनाइएको छ ।
आजै साँझ ६ बजे गठबन्धन शीर्ष नेताहरूको बैठक बस्ने छ । कांग्रेसभित्र असन्तुष्टि रहेको र इतर समूहले चुनावमा भाग नलिने चेतावनी दिएपछि गठबन्धनका अन्य दलहरू कांग्रेसको इतर समूह मनाउन लागि परेका छन् ।