रुसले जनमत संग्रहबाट युक्रेनको करिब १८ प्रतिशत भूमि औपचारिक रूपमा गाभ्ने भएको छ ।
त्यसका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले औपचारिक घोषणा गर्ने तयारी गरेका छन् । केही दिनअघि भएको जनमत संग्रहमा युक्रेनका चारवटा शहर डोनेट्स्क, लुहान्स्क, खेरसन र जपोरिजियाका बासिन्दाले रुसमा गाभिने मत प्रकट गरेको रुसको दाबी छ । आज राष्ट्रपति भ्लादिमिर पुटिनले यसका लागि एक सम्झौतामा हस्ताक्षर गर्दैछन्।
क्रेमलिनका प्रवक्ता दिमित्री एस पेसकोभका अनुसार युक्रेनका चार शहरलाई रुसमा मिलाउने तयारी भइसकेको छ । यी शहरका प्रमुखले अब हेड क्रेमलिनको सेन्ट जर्ज हलमा आवश्यक दस्तावेजमा हस्ताक्षर गर्नेछन् । युक्रेनसहित युरोप र अमेरिकालगायतका देशले भने रुसको उक्त कदमको चर्को विरोध गरिरहेका छन् ।
यस विषयमा रुसले भनेको छ, ‘हामीले पाँच दिन २३ सेप्टेम्बरदेखि २७ सेप्टेम्बरसम्म जनमत संग्रह गरायौँ । यसमा मिलेको समर्थनका आधारमा युक्रेनका डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसनलाई आफ्नो देशमा गाभ्दैछौँ । ’
साथै, युक्रेनका ती चार शहरलाई मिलाउने अवसरलाई रुसले विशेष दिवसका रूपमा मनाउने तयारी गरेको छ । त्यसक्रममा राष्ट्रपति पुटिनले विशेष सम्बोधन गर्ने भएका छन् । उक्त सम्बोधन प्रशारणका लागि मस्कोको रेड स्क्वायरमा होर्डिङ र एक ठूलो भिडियो स्क्रिन राखिएको छ ।