logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गठबन्धनको कुनै दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य छैन : ईश्वर पोखरेल


अंकुरण खबर
1.612K
Shares

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन्। काठमाडौंमा आयोजित दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए । उनले देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरुलाई जिताउन आग्रह गरे।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरु चल्नै नसक्ने अवस्थामा रहेको बताए । आगामी निर्वाचनबाट नेकपा एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उल्लेख गरे।

‘आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको छ। एउटा पोलको लिड एमालेले गरेको छ। जसको राजनीतिक एजेण्डाहरु आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव अर्थात् देश बनाउने सपनाहरुको उजागर हो,’ पोखरेलले भने, ‘यो नेकपा एमालेले लिड गरेको पोल्टिकल पोल र एजेण्डाहरु हुन्। अर्कोतर्फ गठबन्धन छ। यो गठबन्धनको बारेमा मैले धेरै भन्नुपर्दैन, केही दिनअघि मात्रै आदरणीय मदनकृष्ण दाईले प्रस्तुतीमा राख्नुभएको थियो, म त्यो झल्झली सम्झन्छु।’

पोखरेलले कुनै दृष्टिकोण, उद्देश्य र कार्यक्रम नै नभएको गठबन्धन भएको बताए। ‘वास्तवमा हामीलाई त्यस्तै लाग्छ। जसको कुनै दृष्टिकोण छैन, उद्देश्य छैन,’ पोखरेलले भने, ‘कार्यक्रम छैन, गन्तव्य छैन। त्यो गठबन्धनको नामले चिनिएको छ। राष्ट्रिय राजनीतिको अर्को पोल यही गठबन्धन हो। त्यस कारणले आज देश दुई पोलमा विभाजित बनेको अवस्था छ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले तथ्य भन्दा फरक ढंगका समाचार सामग्री सार्वजनिक हुँदा समाजमा भ्रम फैलिरहेको बताए। उनले अहिले देशको विद्रुप रुप देखापरिरहेको बताए ।