पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरूको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुःखेसो गरेका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित १५३औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वराष्ट्रपति यादवले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यकभन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए ।
पूर्वराष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका कारण प्राकृतिक विपद्हरू दिनप्रतिदित बढिरहेको बताए । उनले नेपालमा मात्रै नभई विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोबल वार्मिङको समस्या रहेको बताए । उनले वैज्ञानिकहरूले प्राकृकित स्रोत सम्पदाहरूको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरूले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताए ।
राज्य संयन्त्रले प्राकृतिक स्रोतको दोहन रोक्न किन चासो नदेखाएको भन्दै आश्चार्य व्यक्त गरे ।
पूर्वराष्ट्रपति यादवले प्राकृतिक सम्पदा दोहन गर्दा हाल जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभावजस्ता समस्या बढिरहेको उल्लेख गर्दै यस्ता समस्याहरू समाधानका लागि विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । उनले प्रकृतिको संरक्षण नगरे मानव सभ्यता नै धरापमा पर्ने अवस्था आइसकेको बताए ।
पूर्व राष्ट्रपति यादवले प्राकृतिक सम्पदाहरूको विनाशका कारण कोरोना लगायतका विभिन्न रोगहरू आइरहेको भन्दै प्रकृतिको संरक्षण गर्न सबै जुट्नुको विकल्प नरहेको बताए । उनले महात्मा गान्धीको जीवनी आफैँमा एउटा पुस्तक रहेकोले सबैले गान्धीको जीवनबाट पाठ सिक्न आवश्यक भएको बताए ।