इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा एमाले परित्याग गरी नेकपा माओवादी (केन्द्र) प्रवेश गरेका छन्।
चौधरीको पार्टी परित्यागलाई एमालेले सहज रूपमा लिएको छ। एमालेभित्र विद्रोही रहेका चौधरीको माओवादी प्रवेशले एमालेका स्थानीय नेताहरू ढुक्क देखिएका छन्।
पूर्व सुनसरी जिल्ला अध्यक्ष रहेका चौधरी पत्रकारलाई दुर्व्यवहार गर्ने र नाकको डाँडी भाँच्ने अभिव्यक्तिपछि चर्चित भएका थिए। त्यस लगत्तै महिलामाथि अश्लील शब्द प्रयोग गरेका उनी आफ्नै नेता कार्यकर्ता विरुद्ध खनिए। एमाले नेताहरूले बारम्बार सम्झाउँदा समेत उनको शैली परिवर्तन भएन। एमालेका स्थानीय नेता रामप्रसाद चौलागाईंविरुद्ध सामाजिक तथा भौतिक आक्रमणमै उत्रिए।
एमालेका नवौँ जिल्ला अधिवेशनमा पराजित चौधरी केन्द्रीय सदस्य बन्ने दौडमा थिए। अध्यक्ष केपी शर्मा ओलीको लिस्टमा नपरेपछि उनी जिम्मेवारीविहीन हुन पुगे। स्थानीय निर्वाचनमा पुनः मेयर बन्ने आकांक्षा राखेका उनले भूमिपुत्र चिन्न नसकेको र यसको मूल्य चुकाउनुपर्ने भन्दै प्रतिक्रिया दिएका थिए।
पछिल्लो समय पूर्व उपमेयर लक्ष्मी गौतम, जिल्ला अध्यक्ष रेवती रमण भण्डारी र नगर अध्यक्ष यामकुमार सुब्बा विरुद्ध अभिव्यक्ति दिँदै आएका छन्। एमाले स्थायी कमिटी सदस्य भीम आचार्यको विरुद्धमा देखिएका जिल्ला अध्यक्ष भण्डारीलाई उनले गालीगलौज गरिरहे। मेयरको कार्यकालको अन्तिम समयमा भण्डारी र गौतमलाई चिढ्याउन आचार्यलाई प्रमुख अतिथि बनाएर दर्जन बढी आयोजना उद्घाटन र शिलान्यास गरे। त्यस लगत्तै उपमेयर गौतमको गाडी खोसिदिए।
गाविस अध्यक्ष हुँदै जिल्ला सचिव र अध्यक्ष भएर प्रभावशाली भूमिकामा रहेका चौधरी भूमिकाविहीन भएपछि पार्टी अध्यक्ष ओलीविरुद्ध लागेका हुन्। पार्टी परिवर्तन गर्ने समाचारपछि प्रतिक्रिया दिँदै उनले ओलीको अहंकार धूलिसात पार्न आफू माओवादी प्रवेश गर्न लागेको बताएका छन्।