राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडी भएको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बडादसैँको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक आयामहरू रहेको बताइन् ।
बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरिन्।
सन्देशमा भनिएको छ,यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।वर्षा ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातसँगै मनाइने बडादसैँ पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक आयामहरू रहेका छन् ।
घरको लिपपोत र बाटोघाटो सरसफाई गर्ने, लिङ्गे पिङ–रोटे पिङ खेल्ने, मान्यजनबाट टीका लगाउने र आफन्त भेटघाटका लागि माइत मावली जाने गरिन्छ,सन्देशमा भनिएको छ, बडादसैँको अवसरमा गरिने रमाइला सामाजिक सांस्कृतिक क्रियाकलापहरू आम नेपालीको मन मस्तिष्कमा सुखद् स्मृतिका रूपमा अमिट भएर बसेका हुन्छन्, तसर्थ बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडीको रूपमा रहेको छ भन्ने मलाई लाग्दछ ।
साथै उनले बडादसैँको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरिन् । नेपालीहरूको सबैभन्दा ठूलो चाडका रूपमा रहेको बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा पनि शुभकामना :
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बडादसैँको शुभकामना दिएका छन् ।
नेपालीहरूको महान् चाड बडादसैँ २०७९ को अवसरमा शुभकामना दिँदै उनले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने उनको भनाइ छ ।
प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रमहरू थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षा बमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गरे ।
उनले बडादसैँ अवसरमा शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरे । प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने बताए ।
साथै उनले समाजलाई सत्य धर्म, न्याय र सदाचारको मार्गमा अघि बढाउन हामीलाई प्रेरणा प्रदान गर्दै आएका चाड पर्वलाई शिष्ट र संयमित रूपमा मनाउँदै हाम्रो सांस्कृतिक परम्परा तथा मूल्य मान्यतालाई अक्षुण्ण र जीवन्त राख्न सबैमा आग्रह गरे ।
असत्यमाथि सत्य, अन्यायमाथि न्याय र दुराचारमाथि सदाचार र सद्व्यवहारको विजयको पर्वका रूपमा मनाइने यो चाड नेपालीहरूबीच सांस्कृतिक एकता र सद्भाव प्रवद्र्धन गर्ने विशिष्ट पर्वको रूपमा परापूर्वकालदेखि मनाउँदै आइएको छ ।
दसैँलगायतका हाम्रा सांस्कृतिक पर्वहरूले नेपाली जनताबीच पारस्परिक प्रेम, स्नेह, सद्भाव, भातृत्व, एकता र सहयोगी भावनालाई निरन्तर अघि बढाउन विशिष्ट योगदान पुयाउँदै आएको उनले बताए ।
प्रधानमन्त्री देउवाले यसवर्षको बडादसैँले सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन तथा सत्य र न्यायको मार्गमा अविचलित रूपमा अघि बढ्न सबैलाई उत्प्रेरित गरोस् भन्दै विजया दशमीको शुभकामना व्यक्त गरे ।
बडादसैंको अबसरमा अन्य शीर्षनेता तथा व्यक्तित्वहरुले पनि बडादसैंको अबसरमा शुभकामना व्यक्त गरेका छन् ।