नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारसहित ३ जनाको उम्मेदवारी खारेज भएको छ।
रुपन्देही क्षेत्र नं. २ का गठबन्धनतर्फका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो।
कार्यालयले सोही क्षेत्रका हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको पनि उम्मेदवारी खारेज गरेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार हिमाल बश्यालको उम्मेदवारी पनि कार्यालयले खारेज गरेको छ।
गठबन्धनका उम्मेदवार गुरुङ पौडेलका मुख्य प्रतिस्पर्धी हुन्।
कार्यालयका अनुसार समाजवादीका गुरुङ र स्वतन्त्र उम्मेदवार बश्यालको प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड ९ज० तथा प्रतिनिधसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकाले मनोनयन खारेज गर्ने निर्णय गरिएको हो।
यता हाम्रो नेपाल पार्टीका उम्मेदवार भुसालको विरुद्धमा भने उजुरी परेको थियो। उनीविरुद्ध विष्णु विश्वकर्मा र टोप नारायण पौडेलले कार्यालयमा २४ गते उजुरी दर्ता गरेकामा मंगलबार छानबिन हुँदा सोही निर्देशिकाको दफा १५ को खण्ड (ङ) अनुसार उम्मेदवार हुन पाउने योग्यता नपुगेकोले खारेज भएको कार्यालयले जनाएको छ।