logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले गरे डडेलधुरा र चितवनमा आफ्ना उम्मेदवार फिर्ता, सत्ता गठबन्धनविरोधी उम्मेदवारलाई सर्मथन


अंकुरण खबर
1.508K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चासोका साथ दुई निर्वाचन क्षेत्रमा आफ्ना आधिकारिक उम्मेदवार फिर्ता गराएर अरुलाई सर्मथन गरेका छन्।

एमाले अध्यक्ष ओलीले चितवन–३ र डडेलधुरामा एमालेको सूर्य चिह्नबाट उठेका उम्मेदवारलाई फिर्ता गराएर बागी र बीपी कांग्रेसको तर्फबाट उठेका उम्मेदवारलाई सर्मथन गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लड्दै आएको क्षेत्र चितवन–३ मा सत्ता गठबन्धनले उठाएका उम्मेदवारविरुद्ध बागी दिएका कांग्रेसका दिनेश कोइरालालाई सघाउने निर्णय गरेको हो।

चितवन–३ मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानको उम्मेदवारी परेको थियो। तर, बुधबार एमाले अध्यक्ष ओलीले उनको उम्मेदवारी फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले अध्यक्ष ओलीको हस्ताक्षरसहितको पत्र कार्यालयमा प्राप्त भइ न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ।

चितवन–३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन्। सत्ता गठबन्धनको भागबन्डामा यो क्षेत्र माओवादीलाई परेपछि कांग्रेसका कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार भएको डडेलधुरामा पनि एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर उनीविरुद्ध निर्वाचनको मैदानमा रहेका कर्ण मल्ललाई सर्मथन गरेको छ।

डडेलधुरामा प्रतिनिधि सभातर्फ एमाले उम्मेदवार चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका छन्। यससँगै बीपी कांग्रेसका कर्ण मल्ललाई सघाउने निर्णय कार्यान्वयन हुने एमालेले जनाएको छ। योसँगै यी दुई क्षेत्रमा निर्वाचनको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

दलहरुले पार्टीको निर्णय विपरीत उठ्नेहरुमाथि कारबाही हुने चेतावनी दिएपछि विभिन्न जिल्लामा असन्तुष्टहरुले उम्मेदवारी कायमै राखेका छन्। मल्ललाई एमालेले सर्मथन गरेपछि देउवासँग मल्लको प्रतिस्पर्धा रोचक हुने आकलन गरिएको छ।