मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ मा बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
मदन भण्डारी लोकमार्गको हटिया सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ कठायत चोकमा बसले ठक्कर दिँदा सोही स्थानका सोम गोलेको मृत्यु भएको हो ।
हेटौँडाबाट फापरबारी जाँदै गरेको ना ४ ख ४०२२ नम्बरको बसले अन्दाजी ४२ वर्षका गोलेलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका गोलेको हेटौँडा अस्पतालमा उपचारमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।
बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।