logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना, अस्पतालले चासो नदिँदा शव कुहिन थाल्यो : परिवार


अंकुरण खबर
2.184K
Shares

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौँ मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएको छ।

काठमाडौँ महानगरपालिका-९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसीविरुद्ध आन्दोलनमा उत्रिएका हुन्।

मृतककी श्रीमती सुशीला विद्याधरसहित संघर्ष समितिको टोलीले शनिबार अस्पताल वरपर नाराबाजीसहित प्रदर्शन गरेको हो। सो क्रममा उनीहरूले ‘सरकार पीडितलाई न्याय देऊ’, ‘लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन’, ‘केएमसी प्रशासन मुर्दावाद’, ‘हत्यारा डाक्टर मुर्दावाद’, लगायतका नारा लगाएका थिए।

डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नशा काटेका कारण बिरामीको ज्यान गएको भन्दै आक्रोशित मृतकका आफन्तले उचित क्षतिपूर्ति र न्युरो अस्पतालमा लागेको उपचारको खर्च व्यहोर्नुपर्ने माग गरेको छ।

यता अस्पताल प्रशासनले भने कुनै चासो नदेखाएको संघर्ष समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताए । उनले बिरामीको मृत्यु भएको २१ दिन पुगिसक्दासमेत अस्पतालले कुनै चासो नदिएको बताए।

मृतकका परिवारले डा.अमृत थापाको नेतृत्वमा रहेको काठमाडौँ मेडिकल कलेजको टिमले बिरामीलाई सस्तैमा अप्रेसन गरिदिने प्रलोभनमा पारी लापरवाही गरेर बिरामीको मृत्यु भएको बताए।