एमाले केन्द्रीय सचिव एवं अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य उम्मेदवार टोपबहादुर रायमाझीले चुनावपछि गठबन्धनका दलहरु छिन्नभिन्न भएर सकिने बताएका छन् ।
एमालेलाई हराउन एक भएका ५ दलभित्रै तीव्र असन्तुष्टि र एजेन्डा नभएकोले चुनावमा एमालेले बहुमत ल्याउने र चुनावपछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे ।
‘एउटा पार्टी मिलाउन त समस्या छ, गठबन्धनमा झन् समस्या छ,’ रायमाझीले भने, ‘चुनावपछि गठबन्धन टुक्रा–टुक्रा हुन्छ, गठबन्धनमा रहेका पार्टी पनि टुक्रा–टुक्रा हुन्छन्।’
चुनावपछि देशको राजनीतिक ध्रुवीकरण दुई दलीयतिर जाने रायमाझीले बताए।
‘चुनावपछि सत्ता गठबन्धनमा रहेका दलहरू केही एमालेतिर लाग्छन्, कोही कांग्रेसतिर’ रायमाझीले थपे।