logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखियो


अंकुरण खबर
1.586K
Shares

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको खुम्बुमा देखिएको हिउँ चितुवाको तस्बिर एकजना अमेरिकी फोटो पत्रकारले कैद गरेकी छन् ।

वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएकी अमेरिकी फोटो पत्रकार कितिया पावलोभ्स्कीले विश्वमै दुर्लभ मानिने हिउँ चितुवाको गत अक्टोवर ८ मा कैद गरेको फोटो काठमाडौंस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको छ।

उनले ती तस्बिर सगरमाथाको ५४८६ मिटर उचाइस्थित खुम्बु क्षेत्रमा कैद गरेकी हुन्। यी तस्बिर उनले आफ्नो वेबसाइटमा पनि सार्वजनिक गरेकी छन्।

उनले मुस्ताङ क्षेत्रमा पनि आफूले हिउँ चितुवा पछ्याएको उल्लेख गरेकी छन्। तर सगरमाथा क्षेत्रको ५१६४ मिटरमाथि हिउँ चितुवाको पाइला भेटिएपछि आफूले पछ्याएको उनले जनाएकी छन्। पाइलाका आधारमा पछ्याउने क्रममा ती तस्बिर कैद गर्न सफल भएको उनको वेबसाइटमा उल्लेख छ।

उनले खराब मौसमका बावजुद आफूले पछ्याउँदै उचाइसम्म पुगेर ती तस्बिर कैद गर्न सकेको बताएकी छन्। निकै कठिन चुनौती चिर्दै उत्कृष्ट तस्बिर उनले क्यामेरामा कैद गर्न सफल भएकी छन्।

उनले आफ्नो वेबसाइटमा हिउँ चितुवाको तस्बिर खिच्नका लागि आफू गोरकसेपबाट बिहानै ४ बजे उठेर उचाइतर्फ लागेको बताएकी छन्।

सबेरै बिहान वा बेलुकाको समयमा हिउँमाथि हिँड्ने यो हिमाली जनावरको फोटो राम्रो आउने उनले बताएकी छन्। त्यही अनुसार उनले कठिन मिहिनेत गरेर हिउँ चितुवाको उत्कृष्ट फोटो कैद गरेकी हुन् ।

अंग्रेजीमा स्नो लियोपार्ड भनिने हिउँ चितुवा ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो। यो दक्षिण एसिया तथा मध्य एसियाका हिमाली क्षेत्रमा पाइन्छ।

हिउँ चितुवा समुन्द्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाइबीच चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छ। लुकेर रहने स्वभावले यिनीहरूको एकीन संख्या पत्ता लाग्न सकेको छैन।

हिउँ चितुवा अन्य ठूला बिरालो प्रजातिका जनावरभन्दा सानो हुन्छ। सामान्यतया यिनीहरूको तौल २७ देखि ५४ किलोग्राम तथा लम्बाई ७५ देखि १३० सेन्टिमिटरको हाराहारी हुन्छ।