मंसिर-४ मा सम्पन्न आम निर्वाचनको परिणामले नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ। तर समानुपातिक मतमा भने एमाले पहिलो बनेको छ। निर्वाचनले सरकार गठनका लागि कुनै पनि दललाई स्पष्ट बहुमत नदिएपछि अब फेरि गठबन्धन सरकार नै गठन हुने देखिएको छ।
त्यसका लागि वर्तमान सत्ता गठबन्धनले सरकार गठनको पहल थालेको छ। यही गठबन्धनलाई निरन्तरता दिने गरी सत्ता गठबन्धनबीच छलफल सुरु भएपनि शक्ति बाँडफाँटका विषयमा उनीहरुबीच कुरा मिलिसकेको छैन।
सत्ता गठबन्धनले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी सरकार गठनको प्रयास गरेका बेला नेकपा एमालेले पनि अनौपचारिक रुपमा सरकार गठनका लागि प्रयास सुरु गरेको छ। समानुपातिकतर्फ ठूलो दल बनेको एमालेले जनताले सबै दललाई मिलेर काम गर्ने म्याण्डेड दिएकाले सरकार गठनका लागि अनौपचारिक रुपमा छलफल थालेको हो।