logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुकुम्बासी बस्ती झडप प्रकरण : आक्रमणमा उत्रने चार जनालाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार


अंकुरण खबर
2.574K
Shares

सुकुम्बासी बस्ती हटाउने क्रममा आक्रमणमा उत्रनेहरुलाई पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई पत्राचार गरिएको छ।

काठामाडौं महानगरपालिकाले जिल्ला प्रहरी परिसर काठमाडौं, टेकुलाई बुधबार पत्रचार गर्दै कारबाही गर्न भनेको हो। महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत महेश काफ्लेद्वारा हस्ताक्षरित पत्रमा हतियारसहित आक्रमणमा उत्रनेहरुको नाम समेत उल्लेख गरिएको छ।

जसमा राजु तामाङ, दीपकजंग कुँवर, हुकुम लामा र नारायण परिश्रमीले खुकुरीलगायत हतियारसहित आक्रमणमा उत्रिएको र उनीहरुको आक्रमण प्रहरी समेत घाइते भएकाले तत्काल पक्राउ गरेर कारबाही गर्न भन्दै पत्र आइपुगेको प्रहरी स्रोतले जानएको छ।

बस्ती हटाउने क्रममा प्रहरी जवान शर्मिला बोगटीलाई बन्धक बनाएर आक्रमण गरिएको नगर प्रहरी राजुपाण्डेसहित १८ जनालाई हतियारले आक्रमण गरेर घाइते बनाएकाले कारबाही गर्न माग गरिएको छ।

महानगरका मेयरसमेत उपस्थितिमा भएको निर्णयबाट कारबाहीको माग गर्दै प्रहरीलाई पत्राचार गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौं, गृहमन्त्रालय समेतलाई बोधार्थ दिएर पत्र लेखिएको छ।

यस्ता छन् कारबाहीका लागि पत्रचार गरिएका मुलुकी फौजदारी अपराध संहिताको दफा

पत्रमा माथि उल्लेखित चार जनालाई मुलुकी फौजदारी अपराध संहिताको दफा ८५, १९६ र २१२ अनुसार कारबाही गर्न माग राखिएको छ।

दफा ८५ मा बाधा विरोध गर्न नहुने उल्लेख गरिएको छ। आफ्नो पदीय कर्तव्य पालन गर्न लागेको राष्ट्रसेवकलाई जोर जुलुम गर्ने वा बाधा पुर्‍याउनु नहुने उल्लेख छ। यस्तो गरेमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख गरिएको छ।

दफा १९६ मा आपराधिक बल प्रयोग गर्न नहुने उल्लेख छ। आपराधिक बल प्रयोग गर्नेलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ।

दफा २१२ मा शरीर बन्धक लिन नहुने उल्लेख छ। बस्ती हटाउन गएको बेला उनीहरुले प्रहरी जवान शर्मिला बोगटीलाई बन्धक बनाएर आक्रमण गरेको भन्दै दफा २१२ अनुसार कारबाही हुनुपर्ने माग राखिएको छ।

बन्धक बनाएर आक्रमण गरेमा ७ वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाख रुपैयाँ जरिवाना हुनसक्ने उल्लेख गरिएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोर आसपासका अनधिकृत सुकुम्बासी बस्ती हटाउन भन्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको थियो। बागमती सभ्यता एकीकृत विकास समितिको पत्राचारपछि महानगरपालिकाको बैठकले बस्ती हटाउने निर्णय गरेको थियो । बस्ती हटाउने समय समेत दिँदा समेत नहटाएपछि महनगरपालिका प्रहरी टोलीसहित सोमबार थापाथलीस्थित सकुम्बासी बस्ती पुगेको थियो। सो क्रममा खुकुरीसहित घरेलु हतियार लिएर आक्रमणमा उत्रिएका थिए ।

आक्रमणबाट प्रहरी समेत घाइते भएका थिए। उनीहरु ज्यान लिनेसम्मको अभिव्यक्ति समेत सार्वजनिक रुपमा दिएका थिए ।

महानगरपालिकाबाट कारबाही गर्न भन्दै नाम नै तोकेर आएपछि प्रहरीले कारबाहीको प्रक्रिया अघि बढाएको छ। विभिन्न तीन वटा कसुरमा कारबाहीका लागि भनेर आएपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएर कारबाही प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जानकारी दिएको छ ।

बस्ती हटाउने क्रममा आक्रमणमा उत्रिएपछि महानगरले अहिलेलाई डोजर लगाउने काम रोकेको छ। उता सुकुम्बासी बस्तीका बासिन्दा भने राति समेत बस्ती हटाउने सक्ने भन्दै जाग्राम बस्ने गरेका छन् ।