मंसिर ४ गते सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनबाट २० जनाभन्दा बढी उद्योगी–व्यवसायी संसद्का लागि चुनिएका हुन्।
विगतमा समानुपातिक सूचीमा बसेर सांसद बनेकाहरू अहिले प्रत्यक्ष निर्वाचनबाट संसद्मा पुगेका छन्। त्यसका एक उदाहरण हुन्, उद्योगपति विनोद चौधरी। दुईपटक समानुपातिक सूचीबाट सांसद बनेका उनी यसपटक प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन्। चौधरी ग्रुपका अध्यक्ष रहेका अर्बपति चौधरीले नवलपरासीबाट चुनाव जितेका हुन्।
संसद् नीति निर्माण गर्ने थलो हो। नीति निर्माण गर्ने संसद्मा व्यापारीहरू आउँदा स्वार्थको द्वन्द्व हुने आकलन गरिन्छ। तथापि प्रत्यक्ष निर्वाचन लडेर जनताबाट अनुमोदित भई उद्योगी–व्यवसायीहरू संसद्मा आएका छन्। व्यावसायिक पृष्ठभूमि भएका राजनीतिकर्मी सांसद हुने क्रम हरेक निर्वाचनमा बढ्दै गएको छ। विगतमा समानुपातिकमा बस्ने परम्परा रहे पनि यसपटकको निर्वाचनमा धेरै व्यवसायी प्रत्यक्ष निर्वाचन लडेर संसद्मा पुगेका हुन्। उनीहरू नेपाली कांग्रेससहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय स्वतन्त्र पार्टीदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट टिकट पाएर विजयी भएका हुन्।