प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ५९ हजार ५ सय ५० मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ ।
निर्वाचन आयोगले बिहीबार अपराह्न साढे ५ बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६६ हजार ९ सय ७६ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो ।
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३५ हजार ८ सय ५२ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ ।
यसैगरी ११ लाख ६० हजार ८ सय ९८ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार ६ सय ३९ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८५ हजार २ सय ५७, जनता समाजवादी पार्टी ९जसपा० ४ लाख २० हजार ९ सय २४ र जनमत पार्टी ३ लाख ९४ हजार २ सय ७६ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ ।