logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

५ करोडका सुन्तला बेच्दै पाणिनिका किसान


अंकुरण खबर
1.495K
Shares

अर्घाखाँचीको पाणिनि गाउँपालिका—१ सिम्ले गाउँमा मात्रै पाँच करोडको सुन्तला फलेको छ। पाणिनि गाउँपालिका—१ सिम्ले गाउँका किसानले ३ लाखदेखि २८ लाख रुपैयाँसम्म आम्दानी गरेका छन्। यहाँका ४९ घरका किसान व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनीहरू सबैले सुन्तला बेचेर जीवनस्तर सुधार गरेका हुन्।

किसान रेवतीराज पौडेलले आफ्नो बारीमा ५ सय ५५ बोट सुन्तलाबाट २ सय ५० क्विन्टलभन्दा बढी फलेको बताए। यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख आम्दानी हुने उनले बताए। यहाँका किसानले सुन्ताल बेचेर कम्तीमा ३ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्छन्।

किसान दधिराम गौतमले बारीमा ५ सय ६५ बोट सुन्तलाबाट गत वर्ष ९ लाख रुपैयाँ आम्दानी गरेको बताए। यस वर्ष सुन्तला बढी फलेकाले १४ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेको बताए।  विगतका वर्षमा यहाँ उत्पादन भएका सुन्तला प्रतिकेजी ६० रुपैयाँदेखि ६५ रुपैयाँमा बुटबल, तानसेन र भैरहवाको बजारमा बिक्री गर्ने गरेको उनले बताए।

यस बर्ष पाणिनिको पोखराथोकमा शीत भण्डार बनाएपछि किसानले शीत भण्डारमा भण्डार गरेका छन्। अहिले मौसमी रूपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डारमा अर्थात् कोल्ड स्टोरमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका किसान खुसी भएको अगुवा किसान चिरञ्जीवी पौडेल बताउँछन्।