भाइबहिनीहरू फुर्सदको समयमा हामी सबैजनालाई घुम्न जान मन पर्नु स्वाभाविक हो । विद्यालय बिदा वा हप्तामा हुने एक दिन शनिबार पनि घुमेर नै दिन बिताउने गर्छाैं ।
फुर्सदको समयमा घुम्नका लागि काठमाडौँमा अनेकौँ ठाउँ छन् । तीमध्ये काठमाडौँको फन पार्क नेपालको सबैभन्दा पुरानो फनपार्क हो ।
हामी जति नै बूढो भए पनि हामीभित्रको मन सधैँ बच्चा नै रहन्छ । त्यसैले काठमाडौँको फन पार्क बालबालिका र वयस्क र वृद्धवृद्धाका लागि घुम्नका लागि एकदमै उत्तम ठाउँ हो ।
काठमाडौँ फन पार्क काठमाडौँ उपत्यकाको मुटु भृकुटीमण्डपमा अवस्थित एक मात्र मनोरञ्जन स्थल हो । जहाँ बालबालिकादेखि वृद्धवृद्धा सबैले मनोरञ्जन लिन सक्छन् । निकै आकर्षक खेलहरू रहेको यस पार्कमा विषेश गरी बिदाका दिनमा घुइँचो लाग्ने गर्दछ ।
सिंहदरबार हुँदै पुतलीसडकतर्फ अगाडि बढेर बायाँपट्टि लागेपछि भृकुटीमण्डप नपुगी थोरै अघि बढेपछि हामीले बायाँपट्टि ठूलो गेट देख्न सक्छौँ त्यो हो काठमाडौँ फन पार्क । हामी सबैको रमाइलो र रमाउने ठाउँ ।
काठमाडौँ फन पार्कलाई भृकुटीमण्डप पार्क पनि भनिन्छ, बालबालिका , वृद्धवृद्धा र हरेक उमेर समूहका लागि साप्ताहिक बिदाको दिन रमाइलो समय बिताउनका लागि उपयुक्त ठाउँ मान्निछ ।
फन पार्कमा परिवार र साथीहरूसँग रमाइलो खेल खेल्दा तनाव र चिन्तामुक्त भइन्छ भने शारीरिक रूपमा फिटसमेत रहन सकिन्छ ।
पार्कको परिदृश्य रमणीय छ । हरिया रूखहरू र सुन्दर फूलहरूले वातावरणलाई शान्त बनाउँछ र परिवारहरूलाई आफ्ना बच्चाहरूसँग घुम्नका लागि अझै लोभ्याउँछ । काठमाडौँको व्यस्त र धुलाम्मे जीवनशैलीमा व्यस्त भएका हामीहरूले फुर्सदको समय बिताउने सबैभन्दा पुरानो र स्वच्छ ठाउँ हो काठमाडौँ फन पार्क ।
काठमाडौँ फन पार्क एक विशाल खेल मैदान हो जहाँ धेरै मनोरञ्जनात्मक गतिविधिहरू संलग्न छन् । फन पार्कको प्रवेश द्वारको बायाँपट्टि टिकट काउन्टर रहेको छ । फन पार्कको टिकट एकदमै सस्तो छ । यस्तै विद्यार्थी, बालबालिकाहरू र वृद्धहरूका लागि विभिन्न छुटको व्यवस्था पनि गरिएको छ ।
फन पार्कको बाहिर काटिने मात्रै प्रवेश शुल्क हो । यसबाहेक भित्र प्रत्येक खेलको पनि एक निश्चित मूल्य तोकिएको छ ।
यस्तै रमाइलो फन पार्क दृश्यात्मक रूपमा पनि आकर्षक देखिन्छ । त्यहाँ हरेक पाइलामा कार्टुन, मूर्तिहरू र भित्ते चित्रहरू देख्न सकिन्छ जसले बालबालिकाका लागि मुख्य आकर्षण हो ।
विभिन्न रमाइलो खेलहरूसँगै छेउछाउका पसलहरू पनि विशेष आकर्षित देखिन्छ । रोमाञ्चक र रमाइलो खेलबाहेक, पार्कले स्वादिष्ट खानाहरू, चिसो पेयहरू, आइसक्रिम र खाजा वा फुड कोर्टहरूको पनि व्यवस्था गरेको छ ।
यसबाहेक फन पार्कमा तपाईंहरू आफूसँग खाना र पानी लग्न सक्नुका साथै परिवार र साथीहरूसँग पिकनिक पनि गर्न सक्नुहुन्छ ।
समाज कल्याण परिषद्सँग २०६९–३–१ मा भएको सम्झौताअनुसार सञ्चालनमा आएको यस गेम जोनमा सःशुल्क र निःशुल्क गरी करिब १२ दर्जनभन्दा बढी खेल छन् । काठमाडौँ फन पार्क ४२ रोपनी क्षेत्रफल ओगटेको छ ।
तीन वर्षको उमेर समूहका बालबालिकादेखि ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू र अपाङ्गता भएका सम्पूर्ण मानिसलाई निःशुल्क प्रवेश र निश्चित क्षेत्र छुट्याएर उहाँहरूको सेवासुविधाको लागि निःशुल्क खेलको व्यवस्था गरिएको छ ।
फन पार्क बच्चाका लागि बिदाको दिन मुख्य आकर्षण हुने नै भयो तर यसबाहेक पनि फन पार्कको स्वच्छ, हरियाली वातावरण, इन्डोर, आउटडोर सबै उमेर समूहका मानिसका लागि उपयुक्त छ ।
जाडोे मौसम सुरु भएसँगै हरियाली आँखामा लिँदै घाम तापिरहेको मानिसको भीड पनि त्यहाँ देख्न सकिन्छ । गर्मी मौसममा चिसो हावा खानको लागि र फ्रेस हुनका लागिसमेत एकदमै शान्त वातावरण रहेको छ ।
अरू दिनको तुलनामा शनिबार धेरै भीड लाग्ने र लाइन बस्नुपर्ने हुन्छ । यस्तै मौसम अनुकूलअनुसार पनि पार्कमा धेरै मानिस आउने गर्छन् ।
फन पार्कमा रहेको करिब १२ दर्जन जति खेलमध्ये पनि जिप्पी प्लेलेन, स्ट्राइकिङ कारलगायतका निःशुल्क खेलहरू बच्चाको विशेष रोजाइँमा पर्ने गरेको छ ।
यी खेलहरूले जुनसुकै उमेर समूहका बच्चाहरूको भौतिक, शारीरिक, सामाजिक, शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । फन पार्कमा आउने हरेक बच्चाहरू खुसी भएर रमाएर अर्को पल्ट फेरि आउने प्रतिबद्धता जनाएर जाने गरेको छ ।