नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले ल्याएको अध्यादेश स्वागत योग्य रहेको जनाएको छ।
महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारले आफ्नो पार्टीसँगको सहमति कार्यान्वयन गर्न ल्याएको अध्यादेशमा सरकारकै नेतृत्व गरिरहेको दलका नेताको विरोध किन भन्दै प्रश्न पनि गरेका छन्।
जारी विज्ञप्तिमा भनिएको छ, हाम्रो पाटीसँगको छलफल र सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य हो। जसलाई हाम्रो पार्टीले सकारात्मक रुपले लिँदै धन्यवाद दिन चाहन्छ।
तीन बुँदे सहमतिप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै विप्लवले सरकारले पनि समस्यालाई सकारात्मक रुपले निकास दिन गरिरहेको पहल राष्ट्रपतिले बुझ्ने र अध्यादेशलाई स्वीकृती प्रदान गर्नेमा विश्वस्त रहेको उल्लेख गरेका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, कानुन निर्माण प्रक्रियालाई पूर्णता दिई सहमतिलाई लागू गर्ने वातावरण निर्माण गर्न राष्ट्रपतिज्यूलाई पार्टी विशेष आग्रह गर्दछ।