कतारमा जारी विश्वकप २०२२को खेलमा बेटिङ गराएको आरोपमा एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना एजेन्टलाई पक्राउ गरेको प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-१ घर भई ललितपुरको सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुर छन्।
विश्वकप लगायत खेलमा प्रयोग हुने रूसी बेटिङ एप वानएक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने-गराउने एजेन्टहरू सक्रिय रहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सुचना पाएपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो।
उनीमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ।
एसपी कोइरालाका अनुसार विगत ८ महिनादेखि सट्टेबाजीका एजेन्टको रूपमा कार्यरत थिए।