काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा मंगलवार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका-११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन्।
त्यस्तै, बनेपा नपा-१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा-१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा-११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका-५ की ३२ वर्षीया मञ्जु तामाङको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ।
यस्तै, बस चालक ललितपुरको महाँकाल-४ घर भई हाल पनौती नपा-४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको जोशीले जानकारी दिए। घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये पाँच जनाको नाम खुल्न बाँकी छ।