फिफा विश्वकप फुटबलको २२औं संस्करणको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् ।
कतारमा जारी विश्वकप अन्तरगत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० ले पराजित गर्दै साविकको विजेता फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।
यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर ८ वर्षपछि फाइनलमा पुग्न सफल भएको थियो । फाइनल पुस ३ गते राति ८ः४५ बजे लुसेल आइकोनिक रंगशालामा हुनेछ । त्यो भन्दा एक दिन अघि तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोले राति ८ः४५ बजे खलिफा रंगशालामा खेल्नेछ ।
विश्वकपको फाइनलमा यि दुई टोलीको पहिलो तथा समग्रमा चौथो भेट हुनेछ । यसअघि यि दुई टोलीले समूह चरणमा दुई पटक तथा एक पटक अन्तिम १६ मा प्रतिस्पर्धा गरेको छ ।
सन् १९३० मा भएको विश्वकपको समूह चरणमा अर्जेन्टिना १–० ले विजयी भएको थियो । त्यसपछि १९७८ मा पनि अर्जेन्टिनाले समूह चरणमै २–१ को जित निकालेको थियो । चार वर्षअघिको विश्वकपमा फ्रान्सले प्रि–क्वाटरफाइनलमा ४–३ को जित निकालेको थियो ।
यि दुई टोली हालसम्म १२ पटक भेट भएको छ । जसमा अर्जेन्टिना ६ खेलमा विजयी हुँदा ३ खेल फ्रान्सले जितेको छ । ३ खेल बराबरीमा सकिएको छ ।