logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निगमलाई भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा पनि घटाइने


अंकुरण खबर
1.144K
Shares

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो ।यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाउने तयारी रहेको निगम स्रोतले जनाएको छ । ‘बोर्ड अध्यक्ष (वाणिज्य तथा आपूर्ति सचिव) देशबाहिर हुनुहुन्छ, उहाँ फर्किएलगत्तै बोर्ड बैठक बसेर केही न केही मूल्य समायोजन गर्नेछौं’ स्रोतले भन्यो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो ।

नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रुपैयाँ ऋण छ । विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा निगमको बक्यौता तथा ऋण रकम थपिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा घट्यो कच्चा तेलको भाउ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झरेको छ । शुक्रबार साढे ३ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८०.३ डलरमा झरेको छ । त्यस्तै मुर्बान तेलको प्रतिब्यारेल ७९.२, डब्लूटीआई तेलको मूल्य ७५.१ डलरमा झरेको छ । एक महिनामा समग्रमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १५ डलर हाराहारीमा घटेको छ । तेल उत्पादक मुलुकहरुको संगठन ओपेक प्लसले नोभेम्बर महिनामा कटौती गरेको परिमाणलाई हाल निरन्तरता दिएको छ । युरोपियन मुलुकले रसियन कच्चा तेलको मूल्यमा प्रतिब्यारेल ६० डलरको ‘क्याप’ लगाइदिएका छन् । जसले गर्दा चीन र भारतले रसियन तेलको आपूर्ति बढाएका छन् । रसियाले युक्रेनमा आक्रमण गरेपछि युरोपियन मुलुकहरुले रुसको राजस्व आम्दानी घटाउन विभिन्न प्रयास गरिरहेका छन् ।