नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली संसदीय दलको नेतामा सर्वसम्मतिले चुनिनुभएको छ ।
एमाले सचिव योगेश भट्टराईका अनुसार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन हुनुभएको हो । कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन पनि गरेको थियो । एमालेको प्रतिनिधिसभा संसद्मा ७८ सांसद छन् ।
नेकपा एकीकृत समाजवादीले पनि संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई छनोट गरेको छ । आगामी सरकारमा आलोपालो प्रधानमन्त्री बनाउने सत्ता गठबन्धनको आन्तरिक सहमति दिएका दलहरूले पार्टी नेतृत्वलाई नै दलको नेता चयन गरेका छन् । समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादी पार्टीले प्रत्यक्षमा १० सिट जितेको छ ।