कपिलवस्तुमा पछिल्लो ४ महिनामा मापसेगरी सवारी साधन चलाउने ३ सय ६१ चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मापसे गरी सवारी साधन चलाउन निरुत्साहित गर्न चलाएको अभियानमा सो कारवाही गरिएको प्रहरीको भनाइ छ ।
मापसे गर्ने चालकलाई पहिलो पटक एक हजार रुपियाँ जरिवाना गरिएको प्रहरीको भनाइ छ । जरिवाना गरेर भएपनि चालकलाई मापसे नगर्नेतर्फ सचेत गराउने प्रहरीले जनाएको छ । मापसे गरी सवारी साधन चलाउनेमा सबैभन्दा धेरै मोटरसाइकल चालक छन् । २ सय १८ मोटरसाइकल चालक मापसेमा परेका थिए । यसैगरी ३७ ट्रक चालक, ९० कार, १८ अटोरिक्सा चालक र ५ जना ट्याक्टर चालक रहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा १० हजार बढीलाई प्रशिक्षण गराएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना गराउने उद्देश्यले सञ्चालित अभियानमा सर्वसाधरण बटुवा, स्कुल तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी र सवारी साधनका कर्मचारी रहेको कार्यालय प्रमुख योगेन्द्र तिमिल्सीनाले बताउनुभयो । सडकको अवस्था साघुरो भएका कारणले पैदलयात्रु दुर्घटना जोखिम बढ्दैगएकाले यस पटक बटुवालाई समेत प्राथमिकता दिएको प्रहरीको भनाइ छ ।