भारतको लखनउ नजिक बस दुर्घटना हुँदा तीन नेपालीसहित चार जनाको मृत्यु भएको छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आइतबार राति लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुने टीकापुर नगरपालिका–१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।
अहिले दुर्घटनामा परेकाहरुको आफन्त भारततर्फ जाँदै गरेको प्रजिअ थापाले जानकारी दिए । बसमा सवार अन्य केही घाइते भएका छन् । उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको सोही बसमा यात्रारत टीकापुरका भुपेन्द्र साउदले जानकारी दिएका छन् ।